पालुङटार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट सर्वसम्मत पारित


Capital Headline
प्रकाशित मिति : आइतबार, असार २१ २०८३
3.3K
SHARES

२१ असार काठमाडौ । पालुङटार नगरपालिकाको १३औँ नगरसभा नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, वार्षिक बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।

नगरसभाले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनसँग सम्बन्धित आवश्यक कानुनी व्यवस्थालाई थप सुदृढ बनाउन विभिन्न विधेयकहरू समेत पारित गरेको जनाएको छ। साथै गत आर्थिक वर्ष २०८१/८२ को यथार्थ आय–व्यय, चालु आर्थिक वर्ष २०८२/८३ को संशोधित आय–व्यय अनुमान र आगामी आर्थिक वर्ष २०८३/८४ को आय–व्यय अनुमान तथा मध्यमकालीन खर्च संरचनालाई अनुमोदन गरिएको छ।

स्वीकृत कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि वार्षिक खरिद योजना, कार्यान्वयन कार्ययोजना, लागत अनुमान, ठेक्का प्रक्रिया तथा उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधि पारित गरिएको छ। चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना तथा कार्यक्रमलाई आवश्यकताअनुसार आगामी आर्थिक वर्षमा निरन्तरता दिने निर्णय पनि गरिएको छ।

नगरसभाले करार सेवामा कार्यरत कर्मचारीहरूको आवश्यकताका आधारमा करार अवधि थप गर्ने, कर्मचारीहरूको तलब प्रतिवेदन स्वीकृत गर्ने तथा नेपाल सरकारको निर्णयअनुसार तलब समायोजन लागू गर्ने निर्णय गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन तथा पुरस्कार प्रदान गर्ने व्यवस्था पनि अनुमोदन गरिएको छ।

विकास आयोजनाको प्रभावकारी अनुगमन र सुपरीवेक्षणका लागि नगरस्तरीय तथा वडास्तरीय अनुगमन समिति गठन गर्ने तथा सडक, भवन, सिँचाइ, व्यायामशाला र सडकबत्ती लगायतका आयोजनामा नियमित गुणस्तर परीक्षण (ल्याब टेस्ट) गर्ने व्यवस्था लागू गर्ने निर्णय भएको छ।

सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्लास्टिक झोला प्रयोग नियन्त्रण, कार्यालय सञ्चालनमा कार्यसम्पादन सम्झौता तथा दण्ड–प्रोत्साहन प्रणाली लागू गर्ने, बेरुजु फर्छ्योटलाई प्राथमिकता दिने, सार्वजनिक भवनको बीमा गर्ने र भवन निर्माणलाई भवन संहिता तथा मापदण्डअनुसार कार्यान्वयन गर्ने निर्णय पनि नगरसभाले गरेको छ।

नगरसभाबाट विभिन्न विषयगत समितिहरूका प्रतिवेदन समेत छलफलसहित पारित भएका छन्। स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनमा पालुङटार नगरपालिकाले प्राप्त गरेको ६७.७५ प्रतिशत अंकलाई नगरसभाले अनुमोदन गर्दै आगामी दिनमा सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व र विकास निर्माणलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नगर प्रमुख विवश चिन्तनले नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयनमार्फत सुशासन, दिगो विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाइने बताउँदै पालुङटार नगरपालिकाको समग्र विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

साथै नगरसभामा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडिहरुलाइ प्रति पदक नगद पुरस्कार ७०००,६०००र ५००० का दरले सम्मान समेत गरिएकाे थियो ।