देश पछाडि फर्किनु र जनताको अधिकार खोसिनु हुँदैन – नेता वर्षमान पुन


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २ २०८३
988
SHARES

२ असार काठमाडौं । नेकपाका नेता वर्षमान पुनले संविधान संशोधनका नाममा देशलाई पछाडि फर्काउने र उत्पीडित समुदायले प्राप्त गरेका अधिकारहरू कमजोर पार्ने प्रयास हुन नहुने बताएका छन् । दाङ पुगेका नेता पुनले संविधानमा सुनिश्चित गरिएका उत्पीडित जाति, समुदाय तथा क्षेत्रका अधिकारहरू कुनै पनि बहानामा खोस्न नहुने बताए ।

उनले बहुभाषिकता, बहुसांस्कृतिकता, समानता तथा सबै जाति- समुदायको उत्थानका विषयबाट राष्ट्र पछि हट्न नहुने धारणा राखे ।मगर समुदायसहित सबै उत्पीडित समुदायलाई आफ्ना अधिकार, स्वायत्तता र पहिचानका विषयमा थप सचेत र जागरूक हुन आग्रह गरे । उनले भने, ‘संविधान संशोधनको बहस चलिरहेका बेला कुनै पनि राजनीतिक दलले मगर, थारु, खस आर्य, महिला, दलित, कर्णालीका जनता तथा अन्य समुदायले प्राप्त गरेका अधिकारहरू खोस्ने प्रयास गर्नुहुँदैन ।’

वर्तमान अधिकार प्राप्त गर्न धेरै सङ्घर्ष, बलिदान र त्यागबाट भएको भन्दै अब अधिकार कटौती नभई आवश्यकताअनुसार थप गर्नुपर्ने बताए। उनले देशको एकता र उत्पीडित समुदायबीचको सहकार्यलाई बलियो बनाउन सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिए ।नेपाली राष्ट्रियतालाई बलियो बनाउनु भनेको कुनै पनि जाति वा समुदायको पहिचान कमजोर बनाउनु नभएको बताए ।