कांग्रेसले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीबारे छानविन प्रतिवेदन


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ४ २०८३
893
SHARES

४ असार काठमाडौं । प्रतिनिसधसभाको आजको बैठकमा पनि विपक्षी सांसदले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन्।  बैठकको आकस्मिक समायमा कांग्रेस सांसद नरेन्द्रकुमा केरुङले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङबारेको छानबिन प्रतिवेदन माग गरेका छन्। केरुङले प्रधानमन्त्री शाहले संसद्‌मा ‘नेपालले भारतको जमिन मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति पनि तीव्र आपत्ति प्रकट गरे।

‘प्रधानमन्त्रीको अभिव्यत्तिले ३ करोड नेपालीको भावनामा चोट पुगेको छ,’ उनले भने, ‘प्रधानमन्त्री यो विषयमा प्रतिनिधिसभाकै रोष्टममा उभिएर माफी माग्न वा स्पष्ट पार्न म आग्रह गर्दछु।’ प्रधानमन्त्री शाहको त्यो विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि केरुङको सभामुखको ध्यानाकर्षण गराए।

उनले गृहमन्त्री सुधन गुरुङमाथिको छानबिनका लागि गठित आयोगको प्रतिवेदन र मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगरिएकोमा प्रश्न गरे।  ‘गृहमन्त्रीलाई कसरी सफाइ मिल्यो र प्रतिवेदनमा के छ भन्ने कुरा आम नागरिकले जान्न पाउनुपर्छ,’ केरुङले भने।

केरुङले सरकारको कार्यशैलीमाथि विरोध जनाए। सरकारले एकातिर सुशासनको नारा दिने र अर्कोतिर विपक्षी दललाई धम्क्याउने तथा संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाए।