आश्वासनपछि चिया उद्योग खुले


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार १२ २०८३
703
SHARES

१२ असार काठमाडौं । नेपाल चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग आजदेखि पुनः सञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ । भारततर्फ चिया निर्यातमा देखिएको समस्याका कारण बन्द गरिएका झापा र इलामका चिया उद्योग आजदेखि पुनः सञ्चालनमा ल्याइने भएका हुन् । नेपाल चिया उत्पादक संघले आज जारी गरेको विज्ञप्तिमा सरकारबाट चिया क्षेत्रका समस्यालाई समाधान गर्ने आश्वासन प्राप्त भएपछि उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ ।

“चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानले भोग्दै आएका समस्या पहिचान र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गर्ने दीर्घकालीन जिम्मेवारीसहित सरकारले विशेष कार्यदल गठन गरेको कार्यदललाई संघले सकारात्मक रूपमा लिएको छ”, विज्ञप्तिमा उल्लेख छ, “अतः सरकारको सकारात्मक पहललाई सम्मान गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरिएको छ ।”

भारतीय चिया बोर्डले लागु गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएपछि उद्योगीहरूले उद्योग बन्द गरेका थिए । यही असार ८ गते सरकारले चिया निर्यातमा देखिएको समस्या अध्ययन गरी समाधानका उपाय सुझाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । संघले कार्यदल गठन तथा सरकारको पहललाई सकारात्मक रूपमा लिँदै किसान र मजदुरको हितलाई ध्यानमा राखेर उद्योग सञ्चालनमा ल्याउने निर्णय गरिएको जनाएको छ ।