रास्वपा पतन हुन्छ – अध्यक्ष लिङ्देन
१३ असार काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन हुने जिकिर गरेका छन् । शनिबार (असार १३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले रास्वपा पतन हुने जिकिर गरेका हुन् ।
उनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न आफूलाई बदल्नुपर्ने बताए । पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन गर्न आवश्यक रहेको उनले औँल्याए ।जनताले राप्रपालाई ठूलो मत नदिए पनि देशमा राजनीतिक विकल्प आवश्यक पर्ने विश्वासका साथ राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको उनले टिप्पणी गरे । आउँदा दिनमा राप्रपा बलियो वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने उनको भनाइ छ ।
उनले रास्वपाको पतनको प्रतीक्षा गरेर मात्र राप्रपाको उदय नहुने पनि बताए । पार्टीले संगठन संरचना, कार्यशैली र गतिविधिमा व्यापक सुधार गरी जनतालाई ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश दिनुपर्नेमा उनले जोड दिए ।
पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेताको पछि लाग्ने नभई जनतालाई साथमा लिएर पार्टी बलियो बनाउन लाग्न आह्वान गरे ।
कार्यक्रममा राजेन्द्र लिङ्देनको भनाइ पढ्नोस्–
अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो हो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि राप्रपाको पालो आउँछ भनेर बसेर राप्रपाको पालो आउँदैन । त्यसका लागि हामीले मिहिनेत गर्नुपर्छ । यो राष्ट्रिय स्वतन्त्र पार्टी त पतन हुनेवाला छ नै, तर त्यसपछि हामी उठ्नको लागि हामीले अहिले गरिराखेको हाम्रो क्रियाकलाप, हाम्रो तरिका, हाम्रो ढाँचामा आमूल परिवर्तन गर्नुपर्नेछ । हाम्रो संगठन संरचना, हाम्रो कार्यशैली, यसमा परिवर्तन गरेर हामी जानुपर्छ । हामीले आमजनतालाई राष्ट्रिय प्रजातन्त्र पार्टी फेरियो, राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो भन्ने सन्देश हामीले दिनुपर्नेछ । त्यस किसिमको क्रियाकलापका लागि अब हामी तयार हुनुपर्छ । कोही साथीहरु भाग्नु पर्दैन, डराउनु पर्दैन । अब हामीलाई एकता चाहिएको छ । हामी जो पार्टीमा छौँ, त्योबीचमा आपसी प्रेम चाहिएको छ । हामीले विवाद र विभाजनको त लामो यात्रा गरी नै सक्यौँ । त्यसले पार्टीलाई कतै पुर्याउँदैन, हाम्रो विचारलाई कतै पुर्याउँदैन भन्ने कुराको उदाहरण हामी स्वयम् नै छौँ । त्यसकारण अब त्यही काम हामीले गर्नु हुँदैन । मेरो आग्रह छ, अब गुट–उपगुटको कुनै नेताको पुच्छर समाएर यो पार्टीमा टिक्ने होइन, जनताको हात समाएर, जनताको हातमा हात मिलाएर यो पार्टीमा टिक्ने र यो पार्टीलाई बलियो बनाउने काममा हामी लाग्नुपर्छ ।