मौद्रिक नीति लचिलो आउँछ – पूर्वगभर्नर अधिकारी
२१ असार काठमाडौं । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक नीति लचिलो हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको अर्थ समितिमा मौद्रिक नीतिका बारेमा भएको छलफलमा उनले मौद्रिक नीतिलाई कसिलो गर्नुपर्ने आवश्यकता नरहेको बताएका हुन् ।
उनले मूल्य स्थिरता र बाह्य क्षेत्रको अवस्था सन्तोषजनक रहेकाले ब्याजदर तथा अन्य मौद्रिक उपकरण थप कसिलो बनाउने आवश्यक नरहेको उल्लेख गरे । मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य विषय भएको उल्लेख गर्दै उनले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने बताए ।
“वर्तमान अवस्थामा राष्ट्र बैंकले बैंक दर, नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कडा बनाउने आधार देखिँदैन । राष्ट्र बैंकभित्र उच्चस्तरीय प्राविधिक विश्लेषण र विस्तृत छलफलपछि मात्र मौद्रिक नीति निर्माण हुने गर्दछ,” उनले भने ।
उनले आन्तरिक उत्पादन वृद्धि र अर्थतन्त्र सुधारका लागि विगतमा लागु गरिएका नीतिहरू सहजताको नाममा हटाउन नहुने बताए ।
आर्थिक सुधारलाई नै ध्यान दिनेगरी मौद्रिक नीति ल्याउनुपर्ने उनको भनाइ छ ।