कहाँ लगाउने हो विकल्प दिनू -अर्थमन्त्री वाग्ले
२५ असार काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउन माग गर्नेले त्यसको विकल्प पनि दिनुपर्ने टिप्पणी गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । कर संकलनबिना राज्य सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले कर हटाउनुपर्ने माग गर्ने सांसदहरूलाई कर कहाँ-कहाँ लगाउने हो भन्ने सुझाव दिन पनि आग्रह गरे ।
“कर नै नउठाइकन राज्य चल्दैन, कहीँ त उठाउनुपर्यो । माननीयज्यूहरूलाई मेरो विनम्र अनुरोध छ, कर उठाउँन हुँदैन थियो भन्दै गर्दा कहाँ उठाउनुपर्ने हो, त्यो पनि सुझाव दिनुहोला,” उनले भने ।
सरकारले नागरिकलाई असर पर्नेगरी कहीँ पनि कर नलगाएको मन्त्री वाग्लेको दाबी छ । सरकारको लक्ष्य प्रतिस्पर्धा बढाउने, लागत घटाउने र भौतिक पूर्वाधार विकासमा सहजीकरण गरेर उपभोक्ताले तिर्नुपर्ने मूल्यलाई घटाउनेमा रहेको उनको भनाइ छ ।करका विषयमा वैकल्पिक र व्यावहारिक सुझाव आएमा त्यसलाई सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
“हामीले गर्ने प्रतिस्पर्धा बढाउने, लागत घटाउने, भौतिक पूर्वाधारमा राज्यले सहजीकरण गरोस् ताकी उपभोक्ताले तिर्ने कर मूल्यमा समायोजन भएर आओस् । मर्म त्यो हो, तर कहीँ पनि कर लगाउँ भन्यो भने यो अलि अफ्ठ्यारो नै कुरा हो,” उनले भने, “यसमा माननीयज्यूहरूले उन्नत विकल्प दिनुभयो भने म आगामी सालको आर्थिक विधेयकमा यसलाई सम्बोधन गर्नेछु ।” उनले दूरसञ्चार, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगाएका कर दुर्गममा सोही क्षेत्रको पूर्वाधार निर्माणको लागि प्रयोग गरिने बताए ।