मिटरब्याजपीडित र सरकारबीच सिंहदरबारमा निर्णायक वार्ता जारी


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
456
SHARES

१ श्रावण काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिँदै औपचारिकता प्रदान गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय (सिंहदरबार) मा सरकारी वार्ता टोली र मिटरब्याजी पीडित पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता सुरू भएको बताइएको छ । यसअघि हिजो पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता भएको थियो । हिजोको छलफल र सहमतिको जगको आधारमा आज अन्तिम सम्झौताको तयारी गरिएको हो । जनकपुरबाट काठमाडौंका लाग पैदलमार्चमा हिँडेका मिटरब्याजपीडितलाई बीच बाटोमै रोकेर सरकारले वार्ताको पहल थालेको थियो ।

वार्ता टोलीमा को-को छन्?

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका छन् ।टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्यका रूपमा छन् ।

पीडित पक्षको तर्फबाट वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरेका छन् । टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार र कैलालीका निर्गराज जैसी रहेका छन् ।