गगनसँग मिल्ने सम्भावना सकिएको देउवा समूहको निष्कर्ष
२ साउन काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले सभापति गगन थापासँग मिल्ने सम्भावना सकिएको निष्कर्ष निकालेको छ।चुनदेवीस्थित सम्पर्क कार्यालयमा हिजो इतर पक्षको नेतृत्व गरिरहेका नेता पूर्णबहादुर खड्काले देउवा समूहको शीर्ष नेताहरूको बैठक राखेका थिए।
हिजोको बैठकमा तीन विषयमा छलफल भएको नेता मीनबहादुर विश्वकर्माले बताए।उनका अनुसार बिपी स्मृति दिवसको तयारी, पार्टी एकताको लागि गठित समिति र सुदृढीकरणबारे र आगामी रणनीतिबारे छलफल भएको थियो।
पार्टी एकताको सम्भावना सकिएको निष्कर्षसहित राष्ट्रिय भेला बोलाउने बैठकले निर्णय गरेको बताए। साउन २४ देखि २९ को बीचमा भेला राख्ने तयारी भएको जानकारी गराए।
भनेपछि मिल्न नसक्ने निष्कर्षमा पुग्नुभयो? भन्ने जिज्ञासामा उनले भने, ‘मिल्ने लक्षण अब ९९ प्रतिशत देखिन्न।’उनले सहमतिको लागि संस्थापन पक्षबाट वार्ताको कुनै प्रयास नभएको आरोप लगाए।
उनले भने, ‘हामी त बाहिर छौँ के गर्न सक्छौँ र ? हामीले मिलाऊँ भन्ने नै त हो। तर उहाँहरू आउनुहुन्छ, भनेको कुरा सबै गर्छु भन्नुहुन्छ, भोलि आउँछु भन्नुहुन्छ, भोलिपल्ट आउनुहुन्न। महिनौँ दिनसम्म आउनुहुन्न।’
उनले संस्थापन पक्षलाई नै मिल्न मन नलागेको हुनसक्ने जिकिर गरे। उनले नयाँ बाटो रोक्ने कुरा भएपनि नेतृत्व, नीति र विधानबारे विस्तारै छलफल हुने बताए।
उनले भने, ‘नयाँ बाटो रोज्ने भन्ने कुरा भइहाल्यो। अब नेतृत्व, नीति, राजनीतिक सिद्धान्त, दर्शन, सबै साङ्गठनिक संरचना, वैधानिक व्यवस्था, पार्टी पार्टी सञ्चालनको विधि सबै तयारी गरेर जान्छ।’
नयाँ पार्टीको सम्भावित नेतृत्वबारे सोधिएको प्रश्नमा उनले थपे, ‘सबै कुरा तयारी हुँदै जान्छ। प्याकेजमा तयारी हुन्छ।’
पार्टीको नाम, चुनाव चिन्हलगायतको विषयमा पनि विस्तारै छलफल हुने बताए।
उनले थपे, ‘नयाँ बाटो जाने, त्यसका लागि सम्पूर्ण तयारीका लागि छलफल गर्छौँ। नीति, नेतृत्व, साङ्गठनिक संरचना, वैधानिक, कानुनी व्यवस्था सबै कुरा अब अगाडि बढ्छ।’