विद्युत् अवरोध न्यून गर्न प्राधिकरणको तयारी
५ श्रावण काठमाडौं । वर्षायाममा बाढीपहिरो र हुरीबतासका कारण बिजुली प्रणालीमा आउन सक्ने अवरोध न्यून गर्न नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र मर्मत सामग्री तयारी अवस्थामा राख्ने भएको छ । सम्भावित समस्या देखिएलगत्तै तत्काल परिचालन हुने गरी प्रदेश तथा डिभिजन कार्यालयहरूलाई तयारी अवस्थामा राखिने प्राधिकरणले जनाएको छ ।
वर्षायाममा नियमित, सुरक्षित र गुणस्तरीय बिजुली आपूर्ति तथा ग्राहक सेवा प्रवाहको अवस्थाबारे प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले सातै प्रदेश र दुई डिभिजन कार्यालयका प्रमुखसँग समीक्षा गरेको छ । कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने जोखिम, ग्राहक गुनासो, सेवा प्रवाह तथा प्रदेशस्तरमा सञ्चालित आयोजना र कार्यक्रमको अवस्थाबारे समीक्षा गरिएको थियो ।
प्राधिकरणले प्राकृतिक विपद्का कारण विद्युत् पूर्वाधारमा क्षति पुगेमा सेवा पुनः सञ्चालनलाई प्राथमिकता दिँदै आवश्यक जनशक्ति, उपकरण तथा सामग्री २४सै घण्टा तयारी अवस्थामा राखिने जनाएको छ । बाढीपहिरो तथा हुरीबतासबाट वितरण प्रणालीमा आउन सक्ने जोखिमको नियमित मूल्यांकन गरी समस्या देखिए तत्काल समाधान गर्ने व्यवस्था मिलाइनेछ ।
विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्था आएमा ग्राहकलाई सकेसम्म पूर्वसूचना उपलब्ध गराउने र गुनासोको छिटो तथा प्रभावकारी सुनुवाइ गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
योजनाबद्ध लाइन अवरोध वा आकस्मिक मर्मतका कारण विद्युत् आपूर्ति प्रभावित हुने अवस्थामा उपभोक्तालाई समयमै जानकारी गराउने प्राधिकरणको तयारी छ ।