वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १० २०८३
551
SHARES

१० श्रावण काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनाको तुलनामा आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक सहायता प्रतिबद्धता घटेको हो ।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना अर्थात २०८२ साउन १ गतेदेखि २०८३ जेठ मसान्तसम्मको अवधिमा नेपालले कुल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । अर्थ मन्त्रालयले जारी गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ४० अर्ब ८८ करोड रुपैयाँ अनुदान र ९३ अर्ब ९५ करोड रुपैयाँ ऋण रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा नेपालले २ खर्ब २२ अर्ब रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । उक्त वर्ष प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा ऋण र अनुदानको अंश क्रमसः ६९.७ प्रतिशत र ३०.३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा सबैभन्दा बढी ऊर्जा र सडक पूर्वाधारमा ४५.३ प्रतिशत रहेको छ । त्यसैगरी, सार्वजनिक वित्त क्षेत्रमा २३ प्रतिशत, जलवायु परिवर्तन क्षेत्रमा १२ प्रतिशत, सहरी विकास क्षेत्रमा ९.५ प्रतिशत, डिजिटल सेवामा ४.५ प्रतिशत, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा २.८ प्रतिशत, कृषि, पर्यटन, मानव संशाधन क्षेत्रमा ०.८ प्रतिशत र सुशासन तथा अन्य अन्तर्गत २ प्रतिशत रहेको छ ।