सत्ता सहकार्यमा सह–संयोजक नेपाल असन्तुष्ट
१० श्रावण काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेकपा (एमाले) बीच भएको सत्ता सहकार्यको सहमतिमा नेकपाका सह–संयोजक माधव कुमार नेपालले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुँदै गर्दा उनी सहभागी भएनन् । नेकपाका सह–संयोजक नेपाल निकट नेकपा नेता रामकुमार भट्टराईका अनुसार प्रदेश सरकारमा सत्ता सहकार्यको विषयमा गृहकार्य गरेर जानुपर्ने नेपालको भनाइ थियो ।
भट्टराईले बाह्रखरीसित भने, “अलि हतार भयो भन्ने उहाँको बुझाई छ । केही गृहकार्य गरेर जाउँ भन्दैहुनुहुन्थ्यो । यसअघि पनि सत्ता सहकार्य भएकै हो त्यसले राम्रो परिणाम दिएको छैन । सरकारका लागि मात्र नजाउँ भन्ने उहाँको भनाइ छ ।”
नेकपा संयोजक प्रचण्डले सह–संयोजक नेपालको भनाइलाई बेवास्ता गरेर सत्ता सहकार्यको सहमति गरेको भन्दै नेकपाका नेता कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् । भट्टराईले भने, “हामी यति यति छिटो निर्णय गरौँ र सहकार्य होस् भन्ने पक्षमा थिएनौँ ।”