नाइमा एक्स्पो २०२६ मा कस्ता–कस्ता सवारी भित्रिँदैछन् ?


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन ११ २०८३
722
SHARES

११ श्रावण काठमाडौं ।  साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा चारपाङग्रे सवारीसाधनको क्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक हुने भएका छन् । नेपालको सवारीसाधन बजारमा यस वर्षको सबैभन्दा ठूलो आकर्षण बन्ने नाइमा मोबिलिटी एक्स्पो २०२६ छ । चीनमा ‘उच्च सम्मान र मायालु’ कार ब्रान्डका रूपमा स्थापित भएको उक्त ब्रान्ड नेपाल आएसँगै अटोप्रेमी नाइमाको व्यग्र प्रतीक्षामा छन् ।हङसी ब्रान्डका विद्युतीय एसयुभी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा औपचारिक रुपमा आउने र प्रदर्शनीमा राखिने छ ।चिनियाँ सवारी उत्पादक कम्पनी एफएडब्लू ग्रुपअन्तर्गतको लक्जरी कार ब्रान्ड हङसी एडभान्स्ड अटोमोबाइल प्रालिले नेपाल ल्याएको हो ।

सरकारी स्वामित्वमा रहेको एफएडब्लू ग्रुपले ठूला कमर्सियल सवारी उत्पादन गर्दै आएको छ भने हङसी ब्रान्डमार्फत प्रिमियम कार उत्पादन हुँदै आएको छ ।  एडभान्स्ड अटोमोबाइलले केही समयअघि हङसी ब्रान्डसँग आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो।

सम्झौतासँगै एडभान्स्ड अटोमोबाइलले नाइमामा राख्नका लागि हङसीका विद्युतीय कार आयात प्रक्रियासमेत सुरू गरिसकेको छ । हङसीले आईसी इन्जिन, हाइब्रिड र बिइभीगरी तीनवटै पावर ट्रेनका कार उत्पादन गर्दै आएको छ ।

एडमान्स्ड अटोमोबाइलले यसअघि फ्रेन्च ब्रान्ड रेनोका सवारी भित्र्याएर बिक्री गर्दै आएको छ ।  कम्पनीले सुरुवाती चरणमा हङसी ब्रान्डका एक वा दुई मोडलका विद्युतीय कार ल्याउने तयारी गरेको छ । हङसीको विद्युतीय एसयुभीमा कुन क्षमताको ब्याट्री र मोटरमा आउने भन्ने कुरा खुलेको छैन ।

नेपाल आउने हङसीको विद्युतीय एसयूभीको मूल्य भने ६० देखि ६५ लाख रूपैयाँबाट सुरू हुने अनुमान गरिएको छ । हङसी ब्रान्डअन्तर्गत चारवटा विद्युतीय सवारी मोडल उपलब्ध रहेको कम्पनीको वेबसाइटमा उल्लेख छ ।

जसअनुसार ई एचएस ९ एसयुभी, ई क्यूएम ५ र ईएच७  सेडान तथा ई एचएस ७ एसयुभी रहेको छ । यी मध्य सुरूमा ई एचएस ९ र ई एचएस ४ मोडल नेपाल  आउने छन् ।

यसबाहेक विद्युतीय साना कार, व्यावसायिक भ्यानदेखि सिटी बससम्मका नयाँ मोडल नाइमा २०२६ मा सार्वजनिक गर्ने तयारीमा व्यवसायी छन् । यसपटकको प्रदर्शनी नयाँ प्रविधि र हरित यातायाततर्फ केन्द्रित हुने देखिएको छ ।

आयोजकका अनुसार प्रदर्शनीमा ५२ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुने आयोजकको दाबी छ ।

यसपटक सबैभन्दा धेरै चासो लक्ष्मी समूहले पहिलोपटक नेपाली बजारमा भित्र्याउन लागेको आर्कफक्स ब्रान्डप्रति देखिएको छ । कम्पनीले कुन गाडी सार्वजनिक गर्छ भन्ने जानकारी दिएको छैन । यद्यपि आर्कफक्स पछिल्लो पटक अन्तर्राष्ट्रिय बजार टी १ सार्वजनिक गरेको छ ।  जसलाई आधुनिक डिजाइन, डिजिटल प्रविधि, उच्च सुरक्षासम्बन्धी सुविधा र दैनिक सहरी प्रयोगका लागि उपयुक्त विद्युतीय कारका रूपमा चिनाइएको छ । यदि यो नेपाली बजारमा आए साना विद्युतीय कारको प्रतिस्पर्धालाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ ।

लक्ष्मी समूहले नै बीएआईसी (बाइक)को नयाँ मोडल पनि सार्वजनिक गर्दैछ । बीएआईसीका नयाँ विद्युतीय तथा हाइब्रिड प्रविधियुक्त खेल उपयोगी सवारीसाधनहरू आरामदायी यात्रा, उन्नत चालक सहायता प्रणाली र लामो दूरीका लागि परिचित मानिन्छन् ।प्यारामाउन्ट मोटर्सले भने एकैपटक वुलिङका चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ ।

एक्सियन, मिनी, डारियन र बिङ्गुओ ईभी नेपाली बजारमा पहिलोपटक देखाइनेछन् । मिनी विद्युतीय सानो सहरी कार हो भने बिङगुओ विद्युतीय आकर्षक डिजाइन र लामो यात्राका कारण अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको मोडल हो । एक्सियन ईभी पारिवारिक प्रयोगलाई लक्षित गरिएको छ । डारियन ईभी आधुनिक सुविधा र आरामदायी यात्रामा केन्द्रित रहेको कम्पनीको दाबी छ । यसैगरी, एसपीजी अटोमोबाइल्सले पनि नयाँ सवारी सार्वजनिक गर्दैछ । आधुनिक बाह्य स्वरूप, डिजिटल ककपिट, स्मार्ट कनेक्टिभिटी र सुरक्षा प्रविधिका कारण ओमोडाका गाडी पछिल्ला वर्षहरूमा विश्व बजारमा तीव्र रूपमा स्थापित हुँदै गएको छ ।

यही कम्पनीले आईकारको नयाँ आईकार भी ४ मोडेल पनि सार्वजनिक गर्नेछ । चेरीले क्यूक्यू–३ सार्वजनिक गर्ने तयारी गरेको छ । यो सानो विद्युतीय क्रसओभर सहरी प्रयोगलाई लक्षित मोडल हो, जसमा कम ऊर्जा खपत, कम्प्याक्ट आकार र डिजिटल सुविधा मुख्य आकर्षण रहने बताइएको छ ।पायोनियर मोटोकर्पले निसानको नयाँ गाडी सार्वजनिक गर्ने तयारीमा छ ।

जी.ओ. अटोमोबाइल्सले एमजी माजेस्ट्रो सार्वजनिक गर्ने तयारी गरेको छ । प्रिमियम खेल उपयोगी सवारीको रूपमा विकसित यो मोडलमा अत्याधुनिक सुरक्षा प्रणाली, ठूलो डिजिटल स्क्रिन, चालक सहायता प्रविधि तथा आरामदायी आन्तरिक संरचनामा विशेष जोड दिइएको छ । व्यावसायिक सवारीतर्फ आयाम इन्टरनेसनलले डोङफेङको २८ सिटे सिटी बस सार्वजनिक गर्नेछ । सहरी सार्वजनिक यातायातलाई लक्षित यो बस यात्रुको आराम, सहज चढाइ–ओरालाइ र सञ्चालन खर्च घटाउने उद्देश्यले विकास गरिएको हो । हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

यसबाहेक कियाका तीन, म्याक्ससका तीन, टोयोटाका दुई, ग्रेट वाल मोटर्सका दुई, कर्रीका दुई, हेनरी भोल्ट्सका तीन, काइयीका एक, होन्री बोमाका एक, लिपमोटर्सका एक तथा स्काइवर्थ–किटनका नयाँ मोडल पनि सार्वजनिक हुनेछन् ।

यीमध्ये अधिकांश विद्युतीय वा नयाँ पुस्ताका कम प्रदूषण उत्सर्जन गर्ने सवारीसाधन हुन्, जसमा उच्च क्षमताको ब्याट्री, तीव्र चार्जिङ, स्मार्ट कनेक्टिभिटी, चालक सहायता प्रणाली र सुरक्षा सुविधालाई प्राथमिकता दिइएको छ ।

यस वर्षको प्रदर्शनीमा नेपालको चारपाङ्ग्रे बजार अब परम्परागत इन्धनमा आधारित सवारीबाट तीव्र गतिमा विद्युतीय र स्मार्ट प्रविधितर्फ उन्मुख हुँदैछ । साना सहरी कारदेखि प्रिमियम खेल उपयोगी सवारी, पारिवारिक गाडी र व्यावसायिक सवारीसम्म अधिकांश नयाँ सार्वजनिक हुने मोडलहरू विद्युतीय वा विद्युतीकरणमा आधारित हुनु यसपटकको प्रदर्शनीको सबैभन्दा ठूलो विशेषता बनेको छ ।