सद्भाव कायम गर्न सबै जिम्मेवार बनौँ – राजनीतिक दल
१३ श्रावण काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वानमा आयोजित प्रदेशस्तरीय सर्वदलीय छलफलमा राजनीतिक नेतृत्वले सामाजिक सद्भावमा कुनै किसिमको खलल पुग्न दिन नहुनेमा जोड दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार आयोजना गरिएको छलफलमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली, प्रमुख राजनीतिक दलका प्रदेशस्तरीय नेतृत्व र सुरक्षा निकायका प्रदेशस्तरीय प्रमुख सहभागी थिए ।
छलफलमा मुख्यमन्त्री कार्कीले सुनसरीको देवानगञ्जमा भएको घटना र त्यसबाट उत्पन्न परिस्थितिबारे जानकारी गराएका थिए ।
छलफलमा सहभागी नेपाली कांग्रेसका कोसी सभापति उद्धव थापाले सामाजिक सद्भाव कायम गराउँदै शान्ति अमनचयन गराउनु अहिलेको चुनौती भएको बताए । उनले भने, ‘‘घटनाको वास्तविक गहिराइसम्म पुगेर यसलाई बढ्न नदिन सबै जिम्मेवार हुनुपर्छ । सरकारले पनि त्यही ढंगले काम गर्नुपर्दछ ।’’
नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले देवानगञ्जमा उत्पन्न परिस्थितिको असर तराईका अन्य जिल्लामा पनि देखिने खतरा भएकोले सरकारले यसलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने बताए । खतिवडाले भने, ‘‘नेपाल सबै जात–जाति भाषाभाषीको हो भन्ने बुझाइलाई बिग्रन दिनु हुन्न ।’’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कोसी प्रदेश समितिका प्रवक्ता अशोक पौडेलले सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, स्थानीय सरकार, धार्मिक तथा सामाजिक संघसंस्था, पत्रकार सबै क्षेत्रले आ–आफ्नो क्षेत्रबाट पहल हुुनुपर्ने बताए ।
उनले भने, ‘‘संवेदनशील घटनाको प्रभाव न्यूनीकरण गर्न सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्छ ।’’ सामाजिक सद्भाव कायम गराउने विषयमा दलहरूले संयुक्त प्रेस विज्ञप्ति पनि प्रकाशन गर्ने पौडेलले जानकारी दिएका छन् ।