बहुमतको दम्भ त्याग्नुस् – प्रचण्ड
१४ श्रावण काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतको दम्भ त्याग्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को ध्यानाकर्षण गराएका छन् । बिहीबार (साउन १४) प्रतिनिधिसभा बैठकमा उनले संसद्को संख्या अस्थायी हुने भन्दै लोकतान्त्रिक प्रतिबद्धता भए त्यो स्थायी समाधानको माध्यम बन्ने बताए । “हामीले यस्तो बेला बहुमतको दम्भ देखाउनु हुँदैन । संख्या अस्थायी हो, लोकतन्त्रप्रतिको निष्ठा स्थायी हो,” उनले भने, “लोकतान्त्रिक निष्ठा र प्रतिबद्धतामा एकाकार भयौँ भने जनताका निराशा चिर्न सकिन्छ, यो दिशातिर सबै लागौँ ।”
निर्वाचनपछि सरकार गठनताकाका नागरिक अपेक्षा अहिले निराशामा परिणत हुन लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । हत्या, हिंसा, बलात्कारका घटना बढिरहेको भन्दै उनले यसतर्फ सरकारले निगरानी गर्नुपर्नेमा जोड दिए ।
कठिन परिस्थितिसँग जुधेर समाधान निकालेका नेताहरू देशमा रहेका उनले उल्लेख गरे । उनले त्यस्ता नेताका अनुभव लिन प्रधानमन्त्रीले हिचकिचाउन नहुने बताए । “ठूलठूला कठिन परिस्थितिको सामना गारेका नेताहरू छन् । लोकतन्त्रका लागि ७० वर्षको संघर्ष गरेका नेताहरू छन् । जनयुद्ध लडेर आएका नेताहरू पनि छन्,” प्रचण्डले प्रधानमन्त्रीलाई प्रश्न गरे, “यो अनुभव लिन कुनै बाधा छ र, कसले रोकेको छ र ?”
उनले प्रधानमन्त्रीलाई संवादबाट जति टाढा भाग्यो, संकट उत्तिकै गहिरिएर जानेतर्फ ध्यानाकर्षण गराए । अप्ठ्यारोमा मानिसले ज्यान फाल्न तयार हुने भन्दै उनले त्यस्तो अवस्था आउन नदिन समाधानको बाटो खोजी गर्न आग्रह गरे । “तपाईंहरू संवादबाट जति टाढा जानुहुन्छ, जति प्रतिपक्षीहरूबाट टाढा जानुहुन्छ, त्यति नै तपाईंहरूसँगै राष्ट्र र जनतासँगै हामी सबै अप्ठ्यारोमा पर्छौं,” उनले भने, “दुनियाँमा अप्ठ्यारो परेपछि मानिसहरू ज्यान फाल्ने गरेका थुप्रै उदाहरण छन् ।”