अर्थमन्त्रीले मागे ‘६ महिनामा सरकारले गर्नैपर्ने ५ निर्णय’


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २५ २०८३
399
SHARES

२५ श्रावण काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई अर्थ मन्त्रालयमा बोलाएर सरकारले आगामी ६ महिनामा गर्नुपर्ने ५ महत्वपूर्ण निर्णय के–के हुन् भनेर सोधेका छन्।  सोमबार बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्रीबीच अर्थ मन्त्रालयमा छलफल भएको हो।

वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग व्यवसाय विस्तारमा अझै विद्यमान मुख्य अवरोधबारे स्पष्ट धारणा दिन आग्रह गरेका छन्। उनले सरकारका हालसम्मका सुधारहरू व्यवहारमा कति प्रभावकारी भएका छन् भन्नेबारे पनि निजी क्षेत्रबाट प्रत्यक्ष प्रतिक्रिया मागेका थिए। कर प्रशासन, नियमन, जग्गा, ऊर्जा, श्रम, पूर्वाधार, वित्त, निर्यात, कानुनी व्यवस्था तथा सरकारी प्रक्रियामध्ये तत्काल सुधार आवश्यक रहेका क्षेत्र पहिचान गर्न वाग्लेले भनेका थिए।

नेपालमा उद्योग विस्तार गर्न, नयाँ उत्पादनमा प्रवेश गर्न र नयाँ प्रविधि भित्र्याउन अर्थमन्त्रीले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन्। उनले वैध रूपमा गरिएको लगानी, सिर्जना गरिएको सम्पत्ति र आर्जित नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका छन्।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारले शंकाको दृष्टिले नभई राष्ट्र निर्माणको साझेदारका रूपमा हेरेको बताए। उनले निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक सफलताको आधार भएको उल्लेख गर्दै लगानी विस्तारका लागि सरकार आवश्यक सहजीकरण गर्न तयार रहेको बताए। नेपालमा अझ ठूलो लगानी गर्नुहोस्। भएका उद्योग विस्तार गर्नुहोस्। नयाँ उत्पादनमा प्रवेश गर्नुहोस्। नयाँ प्रविधि भित्र्याउनुहोस्। नयाँ रोजगारी सिर्जना गर्नुहोस्’, अर्थमन्त्री वाग्लेले आग्रह गरे। उनले उद्योगी–व्यवसायी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकको नेतृत्वसँग पछिल्ला दिनमा भएका छलफलबाट नेपालको आर्थिक रूपान्तरण सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने निष्कर्षमा पुगेको बताए।

‘नेपालको आर्थिक रूपान्तरण कुनै एक मन्त्रालय, कुनै एक नीति वा कुनै एक संस्थाले मात्र होइन, यसको नेतृत्व सरकार र निजी क्षेत्रले सँगै गर्नुपर्छ’, उनले भने। अर्थमन्त्री वाग्लेले आफू बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग सरकारको धारणा सुनाउनभन्दा पनि नेपालमा ठूलो लगानी गरेका र ठूलो जोखिम उठाएका उद्यमीका अनुभव सुन्न आएको बताएका थिए। व्यवसाय विस्तारमा देखिएका व्यवहारिक समस्या र सरकारी नीतिका कमजोरी पहिचान गरी समाधानको कार्यसूची बनाउन बैठक आयोजना गरिएको उनको भनाइ थियो।

लगानी सुरक्षा सरकारको प्राथमिकता
अर्थमन्त्री वाग्लेले नेपालमा वैधानिक रूपमा भएको लगानी र त्यसबाट सिर्जित सम्पत्ति तथा नाफाको सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे।

लगानीकर्ताले आफ्नो सम्पत्ति सुरक्षित रहेको, नियम स्थिर रहेको, कर प्रणाली पूर्वानुमेय रहेको र राज्य साझेदारका रूपमा उभिएको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने उनले बताए। ‘उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नियम स्थिर छन्, कर प्रणाली पूर्वानुमेय छ र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्छ’, उनले भने।

सरकारले निजी क्षेत्रलाई केवल करको स्रोतका रूपमा हेर्न नहुनेमा जोड दिँदै वाग्लेले करदातालाई राष्ट्र निर्माणका साझेदारका रूपमा सम्मान गर्ने नीति अघि बढाइएको बताए।  इमानदारीपूर्वक कर तिर्ने संस्कृतिलाई उच्च सामाजिक सम्मान दिलाउन सरकारले काम गरिरहेको उनको भनाइ छ।

अर्थमन्त्रीले सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रप्रतिको आफ्नो दृष्टिकोण स्पष्ट पारेको बताए। सरकारको प्राथमिकता कर संकलन बढाउनेमा मात्र सीमित नभई उत्पादन, लगानी, नाफा र पुनःलगानीको चक्रलाई तीव्र बनाउने रहेको उनले बताए।

उनले उद्योगले कमाएको नाफा पुनः लगानी हुँदा उत्पादन बढ्ने, उत्पादन बढ्दा रोजगारी सिर्जना हुने, रोजगारीबाट आम्दानी बढ्ने र आम्दानी बढेपछि बजार विस्तार हुने चक्रले अन्ततः सरकारको राजस्वसमेत बढाउने तर्क गरे।‘सरकार र निजी क्षेत्रको सम्बन्ध शून्य–योग (जेरो सम) सम्बन्ध होइन। दुवैको सफलता एकअर्काको सफलतासँग जोडिएको छ’, उनले भने।अर्थमन्त्रीले निजी क्षेत्रलाई थप लगानी गर्न आग्रह गर्दै सरकारले लगानीकर्तालाई आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए।

‘रेस्पोन्स डेस्क’बाट अनुगमन
बैठकमा उठेका विषयलाई केवल छलफलमा सीमित नराखी कार्यान्वयनमा लैजाने अर्थमन्त्रीले बताए। सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय गरी समस्या समाधानको प्रक्रिया अघि बढाउने र त्यसको अनुगमन अर्थ मन्त्रालयको ‘रेस्पोन्स डेस्क’मार्फत गरिने उनले जानकारी दिए।

उनका अनुसार निजी क्षेत्रसँगको संवादलाई एकपटकको कार्यक्रमका रूपमा नभई निरन्तर प्रक्रियाका रूपमा अघि बढाइनेछ। व्यवसायीले उठाएका समस्या समाधान नभएसम्म संवादको श्रृंखला जारी रहने उनले बताए।

अर्थमन्त्री वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीलाई नेपालको आर्थिक रूपान्तरणका महत्वपूर्ण साझेदारका रूपमा चित्रण गरेका थिए। बहुराष्ट्रिय कम्पनीहरू केवल सफल व्यवसाय वा कम्पनीका प्रतिनिधि मात्र नभई ठूला करदाता, रोजगारदाता, लगानीकर्ता र राष्ट्र निर्माणका अग्रणी साझेदार भएको अर्थमन्त्रीले बताए।

उनले निजी क्षेत्र सफल भए मात्रै राज्यको अर्थतन्त्र बलियो हुने भएकाले उद्योगीको सफलता समाजका लागि गर्वको विषय बन्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

‘हामी यस्तो वातावरण निर्माण गर्न चाहन्छौँ जहाँ उद्योगी सफल हुँदा समाज गर्व गरोस्, लगानीकर्ता सुरक्षित महसुस गरोस्, करदाता सम्मानित होस् र युवा उद्यम गर्न प्रेरित होस्,’ उनले भने।