कुमारी बैंकको नाफामा ठूलो उछाल
२७ श्रावण काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार एक वर्षको अवधिमा बैंकको खुद नाफा ३०५.९५ प्रतिशतले बढेको हो।गत आर्थिक वर्षमा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ अर्ब ८१ करोड ९६ लाख ९८ हजार रुपैयाँ मात्र रहेको थियो।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ पुगेको छ। बैंकको लाभांश वितरण क्षमता ३.०२ प्रतिशत रहेको विवरणमा उल्लेख छ।बैंकले यस अवधिसम्म ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७० अर्ब ९२ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १७ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ सञ्चित छ।
>
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ अर्ब १ करोड ३० लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आम्दानी ३ अर्ब ४ करोड ८८ लाख रुपैयाँ रहेको छ। कुल सञ्चालन आम्दानी १६ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ पुग्दा सञ्चालन नाफा ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ कायम भएको छ।त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी बढेर २८.१७ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १७०.८० रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ७.४६ प्रतिशत कायम भएको छ।