दुई दिनमा ५५ हजारले गरे नाइमा एक्स्पो भ्रमण, बुकिङ उच्च


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०८३
247
SHARES

२८ साउन काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ दुई दिनमा ५५ हजारजनाले अवलोकन गरेका छन् । मंगलबार (साउन २६)देखि सुरु एक्स्पोमा अवलोकनकर्ताको व्यापक सहभागिताले मेलास्थल भरिभराउ बनेको छ ।मेलास्थल पुगेका अवलोकनकर्ताले आफूलाई मन परेका कार छानीछानी बुक गरिरहेका जनाइएको छ । महँगा र सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताको समान रुचि देखिएको एक्स्पोमा सहभागी कम्पनीको भनाइ छ ।

काठमाडौंको डिल्लीबजारबाट मेला अवलोकन गर्न आएका दिनेश महर्जनले नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारका कार बुक गर्ने महत्त्वपूर्ण अवसर भएको बताए । “म नाइमा एक्स्पोकै अवसर पारेर कार किन्ने सोचमा थिएँ,” मेलास्थलमा भेटिएका उनले भने, “धेरै ब्रान्डका आकर्षक मूल्य र फिचरसहितका गाडी देख्दा छनोट गर्न निकै सकस परिरहेको छ ।”

अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिसलगायत विषयमा चासो राखेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जाजस्ता सुविधा दिएका छन् । (साउन २७) दोस्रो दिन पनि विभिन्न ब्रान्डका चार नयाँ मोडल सार्वजनिक गरियो । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका थिए ।

बुधबार २६ हजारभन्दा बढीले मेला अवलोकन गरे । उद्घाटनका दिन २९ हजारभन्दा बढी मानिसले मेला अवलोकन गरेका थिए । मेला अवधिभरमा करिब डेढ लाखजनाले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो ६ दिन अर्थात् साउन ३१ गतेसम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अरू नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा छन् ।

एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका निम्ति विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् ।मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड छ । रेडबुल पावर्डबाईका रूपमा छ । बैंकिङ पार्टनरका रूपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड छन् ।