कार्यसम्पादनमा कुनै समस्या छैन – एनआईएमबी बैंक


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २८ २०८३
494
SHARES

२८ साउन काठमाडौं । एनआईएमबी बैंकले अध्यक्ष, सञ्चालक तथा सीईओविरुद्ध मुद्दा दर्ता भए पनि बैंकको काम कारबाहीमा कुनै समस्या नभएको बताएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रचलित कानून, नियामकीय व्यवस्था तथा बैंकिङ्ग मान्यता अनुसार गरिआएको नियमित काम कारवाहीको विषयलाई लिएर बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत उपर मुद्दा दायर भएको घटनाप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।”

यस घटनाबाट बैंकको नियमित बैंकिङ्ग कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको एवं बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहि संस्थाको सबलता, समग्र ग्राहकको हित र बैंकिङ्ग प्रणालीको स्थायित्वलाई केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधिहरू पूर्ववत् रूपमा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन रहनेमा पूर्ण विश्वस्त विज्ञप्तिमार्फत गराइएको छ ।

“बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिनुहुन यसै विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौं । बैंकका सम्बन्धमा आएका अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाई आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गर्दछौं । साथै, बैंकका समस्त निक्षेपकर्ता, ग्राहकवर्ग, शेयरधनी महानुभावहरु तथा सरोकारवालाबाट प्राप्त हुँदै आएको सद्भाव र विश्वास प्रति बैंक हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गर्दछ,” विज्ञप्तिमा भनिएको छ  ।