मुक्तिनाथ विकास बैंक र अटोवेज प्रा.लि. बीच व्यावसायिक सम्झौता


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ८ २०८३
817
SHARES

८ असोज काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण ‘बुल मेसिन’को आधिकारिक वितरक अटोवेज प्रा.लि.(Autoways Pvt. Ltd.) बीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल र अटोवेज प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार बैंकले बुल मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल वा इनभ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ । त्यसैगरी, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो उपलब्ध गराएमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इनभ्वाइस मूल्यको ८० प्रतिशतसम्म र न्यूनतम ब्याजदरमा कर्जा उपलब्ध हुन सक्नेछ।

यस सहकार्यबाट उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग पुग्ने बैंकले जनाएको छ। साथै, मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा SME लगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।