नेपाली कम्युनिष्ट पार्टीले स्थानीय तहको चुनावपछि महाधिवेशन गर्ने
१२ असोज काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनपछि मात्रै महाधिवेशन गर्ने तयारी गरेको छ ।पार्टीभित्रको सांगठनिक समायोजन, सदस्यता नवीकरणलगायतका काम पूरा नभएको र केही महिनामै स्थानीय तहको निर्वाचन आउन लागेकाले तत्काल महाधिवेशनमा नजाने समझदारी भएको नेकपाले जनाएको छ ।
केन्द्रीय कार्यसंयोजन समिति सदस्य पम्फा भुषालका अनुसार अहिले पार्टीको प्राथमिकता सांगठनिक व्यवस्थापनसँगै निर्वाचनको तयारीमा केन्द्रित हुने भएको छ ।“हाम्रो समायोजनकै कुरा सकिएको छैन । सदस्यता नवीकरणको कुरा पनि सकिएको छैन । ५–७ महिनामा स्थानीय तहको चुनाव पनि आउँदैछ,” भुषाललेभनिन्, “महाधिवेशनतिर लागेपछि निर्वाचनको तयारी हुँदैन । त्यसैले निर्वाचनको तयारीतिर पनि जाने ढंगले हाललाई महाधिवेशनमा नजाने समझदारी गरेका छौँ ।”
उनका अनुसार कानुनी रूपमा चार वर्षपछि महाधिवेशन गर्न सकिने भए पनि पार्टीले नियमित महाधिवेशनभन्दा समग्र कम्युनिष्ट आन्दोलनको समीक्षा र आगामी कार्यदिशाको विकासलाई प्राथमिकता दिएको छ ।
भुषालले समाजवादको दिशामा अघि बढ्ने गरी पार्टीको आगामी कार्यदिशा तय गरिने बताइन् । त्यसका लागि अहिलेसम्मको राजनीतिक तथा सांगठनिक यात्राको समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।“हामीले समग्र आन्दोलनको समीक्षा गरेर कार्यदिशाको थप विकास गर्नुपर्नेछ । समाजवादमा जाने दिशामा पार्टीलाई अगाडि बढाउने हो,” उनले भनिन् । पार्टीको आवश्यकता र राजनीतिक परिस्थितिअनुसार संगठन तथा कार्यदिशालाई विकास गर्दै लैजाने उनको भनाइ छ ।