रामहरि र अजयबाबु कांग्रेस सहमहामन्त्रीमा निर्वाचित


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २७ २०८३
380
SHARES

२७ असोज काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। तर, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन। सहमहामन्त्रीमा निर्वाचित खतिवडाले आफू दुई हजार ९१९ मतसहित विजयी भएको नतिजा पाएको जानकारी दिए। उनका अनुसार अर्का निर्वाचित सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत ल्याएका छन्।

सहमहामन्त्री (खुलातर्फ) नौ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा थिए। तेस्रो भएका डिल्लीराम सुवेदीले एक हजार ८५१ मत प्राप्त गरेका छन्। उनी गण्डकी प्रदेशका सांसद हुन्। पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले एक हजार ३८२, राजिव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९ मत ल्याएका छन्। यस्तै अमृतकुमार अर्यालले एक हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेको नेता खतिवडाले जानकारी दिए।

सहमहामन्त्री (खुलातर्फ) मा सर्वाधिक मतसहित विजयी भएका नेता खतिवडा २ असोजमा देउवा समूह छाडेर मूलधारमा फर्किएका थिए। देउवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म दुई जना नेतामात्रै पदाधिकारीमा निर्वाचित भएका छन्। खतिवडाभन्दा अघि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा विजयी भएका थिए।