ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा
८ कार्तिक ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ।निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यद्यपि, उद्घाटनको निश्चित मिति भने सार्वजनिक भएको छैन।
ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक समस्या तथा निर्माण प्रक्रियामा देखिएका जटिलताका कारण निर्धारित समयमा काम सम्पन्न हुन सकेन।
पुलमा दुवैतर्फ लिफ्टको व्यवस्था गरिएको छ। यसले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ।व्यस्त चक्रपथमा पैदलयात्रीलाई सडक वारपार गर्न सहज बनाउनुका साथै दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले पुल निर्माण गरिएको हो।
लिफ्टसहितको संरचनाका कारण पनि यो पुलले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ। निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि यस क्षेत्रका पैदलयात्रीलाई सडक वारपार गर्न थप सहज हुने अपेक्षा गरिएको छ।