‘नक्कली भगवान्’ जन्मिएर हैरान छ – अध्यक्ष ओली
१० कार्तिक काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नक्कली भगवान्’ जन्मिएर हैरान पारेको टिप्पणी गरेका छन् । मंगलबार (कात्तिक १०) काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा उनले ‘पार्वतीले श्राप दिएपछि देवताहरूको जन्म हुन भने बन्द’ भएको बताए ।
“२२–२३ सय वर्षअघि मात्रै आइपुग्दादेखि भगवानहरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए । धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन् । अब कुनै देवताको सन्तान नहोस् भनेपछि ठप्प भए देवताहरू,” ओलीले भने, “तर, पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ ।”
उनले किताबहरूमा नेपालीले तर्कपूर्ण लेखेको भए पनि उद्धरण नगरिने, विद्वान् नमानिने चलन रहेको उल्लेख गरे ।“हामी आफैँले पनि दक्षिणतिरका जोगी आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने चलन छ । आफ्नाकहाँ विद्वान् त्यति चिन्दैनौँ,” उनले भने ।