टाढिएका मतदातालाई पुनः पार्टीमा जोड्न विशेष अभियान चलाउँछौँ – सभापति थापा
१० कार्तिक पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हराएका मतदाता खोज्न र पार्टीलाई जनतासँग जोड्न कांग्रेस अब गाउँ पस्ने बताएका छन् । बीपी स्मृति पुस्तकालय गण्डकीले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले अघिल्लो निर्वाचनमा कांग्रेसको मत घटेको भन्दै मतदातालाई पार्टीमै फर्काउन पार्टी जनतासम्म पुग्नुपर्ने बताए ।
पार्टीले आगामी मंसिर महिनाभर देशव्यापी रूपमा एकमहिने विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको बताए । “विगतका निर्वाचन वा विभिन्न कारणले कांग्रेस छाडेका र टाढिएका मतदाताहरूलाई पुनः पार्टीमा जोड्नु नै यो अभियानको मुख्य लक्ष्य हो । हामी गाउँ–गाउँ पुगेर ती आम मतदाताका प्रश्न, असन्तुष्टि र गुनासाहरू प्रत्यक्ष सुन्नेछौँ र तिनलाई सम्बोधन गर्दै अगाडि बढ्नेछौँ ।”
उनले पार्टीबाट टाढिएका मतदातासँग भेटेर उनीहरूका गुनासा सुन्न र बदलिएको कांग्रेसबारे जानकारी गराउनुपर्नेमा जोड दिए । विगतमा पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका मतदाताको विश्वास जित्न वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।
उनले पार्टी भित्रका गुटको अन्त्य भएको बताए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूहरू कांग्रेसलाई बदल्न पुरानो पुस्तालाई छाडेर नयाँ पुस्तातर्फ लागेको बताए ।