गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ को मृत्यु, ३ घाइते


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८३
171
SHARES

९ कार्तिक रूपन्देही । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।आज दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा ०२२० नम्बरको स्कारपियो कालीगण्डकी करिडोरअन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोटका छविलाल पाण्डे, गोमता पाण्डे र स्याङ्जाको वालिङ नगरपालिका–१० का बालकृष्ण सुवेदी घाइते भएका छन् ।

घाइते छविलाल पाण्डेलाई कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ । गोमता पाण्डेको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ भने बालकृष्ण सुवेदीलाई थप उपचारका लागि मिर्मीबाट मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । उनीहरू दुवैको अवस्था मध्यम रहेको जनाइएको छ ।

दुर्घटनामा निता बगालेको कालीगण्डकी सामुदायिक अस्पताल मिर्मीमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै, स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका–२ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका–१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका–१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे, सोही ठाउँकी सीता पाण्डे र सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनापछि उद्धार टोलीले घटनास्थलबाट घाइते तथा मृतकलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याएको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।