नाट्टा पर्यटन व्यवसायीको साझा संस्था हुन्छ – अध्यक्ष पाण्डे


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०८३
228
SHARES

३१ श्रावण काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्ष भरतजंग पाण्डेले काँधमा नाट्टालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी रहेको बताएका छन् ।निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पाण्डेले नयाँ सोचसहित संस्था अघि बढाउने बताएका हुन् । “निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,” उनले भने, “मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ ।”

पाण्डेका अनुसार निर्वाचन अभियान यसपटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो । यसपटक ठूलो भोजभतेर र अनावश्यक भीडभाड एवं शक्ति प्रदर्शनको होड नभएको उनले बताए । साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्‍याउने प्रयास भएको उनको भनाइ छ । पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र नगरी उनीहरूका कुरा पनि सुनेको र विश्वास पाएको बताए । नाट्टा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए । नेतृत्व भनेको भाषण गर्ने मात्रै होइन, सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी पनि हो भन्ने सन्देश पाण्डेले अभियानमा बनाएका थिए ।

निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे । ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे ।  “नाट्टा एउटा निर्वाचनबाट आउने र जाने नेतृत्वको संस्था मात्र होइन । पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्त्वपूर्ण संस्था हो,” उनले भने ।

नाट्टाको गरिमा, प्रभाव र ऐतिहासिक महत्त्वलाई अझ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ ।यही सोचका साथ उनी निर्वाचनमा होमिए । निर्वाचनको अन्तिम नतिजा आएपछि नाट्टालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन् ।

“अब निर्वाचन सकिएको छ । प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ । निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,” पाण्डे भन्छन् ।उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाट्टाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो ।

निर्वाचित भएसँगै उनले नाट्टालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्त्व र गरिमा कायम राख्ने उल्लेख गरे । शुक्रबार भएको नाट्टाको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।