सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नू – नेता वर्षमान पुन


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०८३
304
SHARES

२६ भाद्र काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सधैँका लागि सत्तामा आएको भ्रममा नपर्न सुझाएका छन् ।प्रतिनिधिसभाको बैठकमा उनले सरकार जनअधिकारको संरक्षणमा चुक्दै गएको भन्दै समय सीमिततालाई ख्याल गर्दै जनअपेक्षाअनुसार काम गर्न सुझाएका हुन् । ‘नो लाइन ओन्ली अनलाइन’को नारा दिएर सरकारमा आएको रास्वपाले जनतालाई पानीमा रुझ्दै ग्यासको लाइनमा बस्न बाध्य बनाएको पुनले बताए ।

”लोकतन्त्र भनेको नागरिकको जीवनको सुरक्षा, प्रश्न गर्ने ग्यारेन्टी, जनअधिकारको संरक्षण, कानुनको शासन र सरकारको जबाफदेहिता हो,” पुनले भने, “करिब दुई तिहाइको वर्तमान सरकार यी विषयमा क्रमशः चुक्दै गएको छ । धान रोप्ने समयमा किसानले मल पाएनन्, अहिले खाना पकाउने ग्यासको चरम अभाव छ ।”

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक रहेको भन्दै पुनले सोधे, “धितोपत्र बजारले दुईतिहाइको सरकारलाई किन पत्याएको छैन ? निजी क्षेत्रको मनोबल थप गिर्दै गएको छ । सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्रमाथि उठाउन असम्भव छ ।”

उनले सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघेको आरोप लगाए । “सप्तरीमा पैसा नभएको भन्दै संघीय सरकार मातहतको अस्पतालले प्रसव वेदनामा रहेकी महिलाको उपचार नगर्दा सडकपेटीमै शिशु जन्मिएको घटनाले सरकारको नियत र क्षमता छर्लंग पारेको छ,”उनले भने, “म सत्तापक्षका साथीहरूलाई सोध्न चाहन्छु यदि तपाईंहरु अहिले प्रतिपक्षमा र अरू सत्तापक्षमा भएको भए तपाईँहरूले यो घटनालाई कुन रूपमा व्याख्या गर्नुहुन्थ्यो होला ?”

उनले प्रधानमन्त्री शाहलाई सच्चिन आग्रह गरे । “डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुस् । लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहन्छ । सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नुस्,” उनले भने, “अरूका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुन्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरुका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।”