आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम हुँदै


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २७ २०८३
627
SHARES

२७ भदौ काठमाडौँ । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै छ।उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा ‘संघर्षका लागि एकता-समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष’ भन्ने नाराका साथ मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ।

मोर्चाको मधेस प्रदेशस्तरीय बैठकले संगठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरेअनुसार जनकपुरमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रममा उपेन्द्र यादव, डा सीके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।

देशव्यापी रूपमा जनसभा गर्दै तल्लो तहसम्म आफ्ना एजेन्डा लैजाने मोर्चाको पूर्वघोषित रणनीतिअनुरूप मधेस प्रदेशमा यो अभिमुखीकरण तय गरिएको आयोजकले जनाएको छ।

जनकपुरको यो भेलालाई मोर्चाले मधेस प्रदेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन र आफ्ना घोषित राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने अभियानको महत्त्वपूर्ण चरणका रूपमा अघि बढाएको छ। पाँच जिल्लाका कार्यकर्ताको सहभागितामा हुने छलफलबाट प्रदेशमा मोर्चाको आगामी सांगठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने अपेक्षा गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालसहित नौ राजनीतिक दल अहिले अग्रगामी मोर्चामा आबद्ध छन्।