सुदूरपश्चिममा बजेट पुनर्लेखन गर्ने सरकारको निर्णय
२७ भदौ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ। अघिल्लो सरकारले ल्याएको बजेट पारित नभएपछि अहिले प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शनिबार मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्ने गरी नयाँ बजेट निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
अघिल्लो सरकारले ल्याएको बजेटको पुनरावलोकन, आवश्यक परिमार्जन तथा पुनर्लेखन गरी प्रक्रिया तत्काल अघि बढाउने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता प्रकाश रावलले जानकारी दिए।बैठकले बजेट निर्माणको आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार आर्थिक मामिला मन्त्रालयलाई प्रदान गर्ने निर्णयसमेत गरेको छ।
सरकारले प्रदेशको वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा यसअघि प्रस्तावित योजना तथा कार्यक्रमको पुनरावलोकन गर्ने जनाएको छ। आवश्यकताअनुसार योजना तथा कार्यक्रम संशोधन तथा परिमार्जन गरी बजेटलाई कार्यान्वयनयोग्य बनाउने तयारी सरकारको छ।
बजेट निर्माणका क्रममा प्रदेशका प्राथमिकता, जनताको प्रत्यक्ष सरोकार तथा उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखिने प्रवक्ता रावलले बताए। सम्बन्धित मन्त्रालय तथा निकायसँग समन्वय गरी बजेटलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
यसअघि प्रदेशमा देखिएको बजेट शून्यताको अवस्था अन्त्य गर्न मुख्यमन्त्री भट्टले शुक्रबार सर्वदलीय बैठक बोलाएका थिए। उक्त बैठकले पनि बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेको थियो। सोही सहमतिअनुसार सरकारले बजेट निर्माणको प्रक्रिया अघि बढाउन लागेको हो।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भएका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याललाई धन्यवाद दिने निर्णयसमेत गरेको प्रवक्ता रावलले बताए।प्रदेश सरकारले आवश्यक प्रक्रिया पूरा गरी प्रदेशसभाबाट बजेट पारित गराउने तयारी गरेको छ।