महाधिवेशनका लागि ७ लाख ८३ हजार बढी क्रियाशील सदस्य रहेको संस्थापनइतरको दाबी


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ११ २०८३
722
SHARES

११ असोज काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनका लागि ७ लाख ८३ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको दाबी गरेको छ । इतर पक्षको सदस्यता व्यवस्थापन केन्द्रीय समिति संयोजक किरणराज शर्मा पौडेलका अनुसार, ५ लाख ७३ हजार २६९ जना पुराना सदस्यले सदस्यता नवीकरण गरेका छन् । यस्तै, २ लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएका छन् ।

उनका अनुसार, संस्थापनइतर पक्षले कुल ७ लाख ८३ हजार ८३६ जना क्रियाशील सदस्यको सूची तयार पारेको छ । पौडेलले क्रियाशील सदस्यताका लागि अनलाइनबाट समेत आवेदन दिन सकिने बताए ।

उनका अनुसार, महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनको काम अघि बढाइएको हो ।नेता प्रकाशशरण महतले भने संस्थापनइतर पक्षले यसअघि कायम रहेका क्रियाशील सदस्यलाई नै निरन्तरता दिएको बताए ।

“हामीले पुरानैलाई क्रियाशील सदस्यमा कायम गरेका छौँ । नवीकरण गरेका सबैलाई समेटेका छौँ । उपस्थित हुने हुन्छन्, नहुने हुँदैनन्,” उनले बाह्रखरीसँग भने । महतका अनुसार १५ औँ महाधिवेशनका लागि नेताहरू अहिले जिल्लाजिल्लामा खटिएका छन् । उनले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने दाबी गरे ।