झूटको प्रचार नगर्नू, देउवाबाटै महाधिवेशनको उद्घाटन सम्भव छैन – नेता डा. प्रकाशशरण महत


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १४ २०८३
551
SHARES

१४ आश्विन काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनको पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन्। सभापति गगन थापासहित कांग्रेसका शीर्ष नेताहरूले सहमतिको लागि देउवालाई महाधिवेशन उद्घाटन गर्न बोलाउने प्रयास जारी राख्ने बताएका थिए। कांग्रेसको महाधिवेशन १८ गते काठमाडौंमा उद्घाटन हुँदै छ।

त्यही चर्चाकाबीच पोखरा पुगेका देउवा समूहका नेता महतले भने, ‘शेरबहादुर देउवा नै महाधिवेशन उद्घाटन कार्यक्रममा आउँदै हुनुहुन्छ भनेर झूटको प्रचार गरिँदै छ। विशेष अधिवेशनबाट आएका पदाधिकारी साथीहरू यस्तो झूट कुरा भन्न हिचकिचाउनुहुन्न।’देउवाले १४ औँ अधिवेशनबाट निर्वाचित सभापति आफू भएकाले १५ औँ अधिवेशन गरेर हस्तान्तरण नेतृत्व हस्तान्तरण गर्छु भनेर स्पष्ट रूपमा भनिसकेको बताए। उनले भोलि सुरु हुने वडा अधिवेशन नै कांग्रेसको आधिकारिक भएको जिकिर गरे।

सहमतिको लागि १५ औँ अधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोज्दा सभापति गगन थापाले नमानेको आरोप लगाए।उनले थपे, ‘अरू केही चाहिएन, अहिले जे भयो भयो। तर १५ औँ अधिवेशनबाट आउने नेतृत्व निष्पक्ष, पारदर्शी ढङ्गबाट सबैको सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने कुरालाई उहाँहरूले कुनै गम्भीरताका साथ दिनुभएन। त्यसैले हामी अदालतमा पुनरावेदनको लागि गयौँ।’

यसअघिको फैसला त्रृटीपूर्ण भएकै कारणले सर्वोच्चले आफूहरूलाई निस्सा दिएको दाबी गरे।
महतले भने, ‘हामी एउटा सत्यको पक्षमा उभिएका छौँ। सत्यको अवश्य पनि जित हुन्छ। अदालतले त्रुटिपूर्ण छ भनिसकेको छ। नेपालमा अझै पनि न्याय मरेको छैन भन्ने हाम्रो विश्वास छ। न्याय पाउँछौँ। त्यो न्याय पाइएन भने त न्याय नै मरिसकेछ भन्ने हुन्छ।’