इन्धनको मूल्य नबढाउने निगमको निर्णय


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १४ २०८३
646
SHARES

१४ असोज काठमाडौँ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले हाल कायम खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

आईओसीले आज पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा, हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ८९ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।

तर भोटेकोशीमा आएको बाढीपहिरोबाट सिर्जित कठिन परिस्थिति, नजिकिँदै गरेका चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको आजको निर्णयानुसार असोज १५ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको साविककै खुद्रा बिक्री मूल्य कायम रहनेछ । यस्तै, पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धन नाफा–घाटा बराबरको मूल्यमा बिक्री गर्ने निर्णय भएको छ ।

हाल काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल तथा डिजेल/मट्टितेल प्रतिलिटर २०० रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ कायम छ । पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल तथा डिजेल/मट्टितेल प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा र दोस्रो वर्गअन्तर्गत सुर्खेत तथा दाङमा १९९ रुपैयाँ कायम छ।

त्यसैगरी आन्तरिक हवाई इन्धन प्रतिलिटर २४९ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन काठमाडौँका लागि प्रतिकिलो लिटर एक हजार ६९७ अमेरिकी डलर कायम गरिएको छ।

खरिद मूल्य बढे पनि बिक्री मूल्य यथावत् राख्दा निगमलाई १५ दिनमा करिब तीन अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।