दूध बोक्ने ट्याङ्कर रुखमा ठोक्किँदा सहचालकको मृत्यु
१५ आश्विन रुपन्देही। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोक्ने ट्याङ्कर रुखमा ठोक्किएर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । पत्थरकोटबाट गोरुसिङ्गेतर्फ आउँदै गरेको लुप्र ०१–००१ क ०८४५ नम्बरको दूध बोक्ने ट्याङ्कर बुधबार राति पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अनियन्त्रित भई रुखमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताए ।
दुर्घटनामा ट्याङ्करका सहचालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–५, बाँग्लाका २६ वर्षीय आशिष अधिकारी गम्भीर घाइते भएका थिए । ट्याङ्करमा च्यापिएका अधिकारीलाई स्थानीय युवा र इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक बाबुराम बस्नेतको कमान्डमा खटिएको टोलीले उद्धार गरी उपचारका लागि गोरुसिङ्गेस्थित बुद्ध पोलि क्लिनिक प्रालिमा लगेको थियो ।
सामान्य उपचारपछि अधिकारीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि एम्बुलेन्समार्फत बुटवल पठाइएको थियो । बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा राति १२ः५५ बजे चिकित्सकले अधिकारीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।ट्याङ्कर कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ बरकलपुरका ३८ वर्षीय महेशप्रसाद चौधरीले चलाएका थिए । दुर्घटनापछि चालक चौधरी र ट्याङ्करलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा राखिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।