राजनीति केवल पद प्राप्त गर्ने माध्यम मात्र होइन – विद्यादेवी भण्डारी
१८ असोज काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले राजनीतिलाई केवल पद प्राप्त गर्ने माध्यमको रूपमा मात्रै हेर्न नहुने बताएकी छन् । आइतबार काठमाडौंमा आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘जीवनी विचार संघर्ष र नेतृत्व’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राजनीतिलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारीको रूपमा हेरिनुपर्ने उल्लेख गरिन् ।
विगतमा राजनीतिक दल र नेताहरूले गरेको संघर्ष र अनुभवबाट यो कुराको पुष्टि भइसकेको उनको भनाइ छ । उनले नयाँ पुस्तामा राजनीति र नेतृत्वको सार्वजनिक जीवनप्रति चासोसँगै विभिन्न प्रश्न र असन्तुष्टि समेत देखिएको बताइन् ।
उनले नयाँ र पुरानो पुस्ताबीचको संवाद आजको महत्त्वपूर्ण आवश्यकता भएको पनि बताइन् । “पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका विकल्प होइन । दुई पुस्ताको अनुभव र ऊर्जाबीचको उचित संयोजनबाट नै राजनीतिक तथा सामाजिक जीवनलाई थप गतिशील र समावेशी बनाउन सकिन्छ,” उनले भनिन् । नयाँ पुस्तालाई विगतका राजनीतिक संघर्ष र परिवर्तनका प्रक्रियालाई प्रत्यक्ष रूपमा अनुभव गर्न नसकेको बताए ।