महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ – उपसभापति भूसाल


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज १८ २०८३
190
SHARES

१८ असोज काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले पार्टीको १५औँ महाधिवेशनलाई केवल पद व्यवस्थापन गर्ने थलोका रूपमा नभई आत्मसमीक्षा, आत्मनिर्णय र पुनर्जागरणको अवसरका रूपमा लिनुपर्ने बताएकी छन् ।आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भूसालले महाधिवेशन कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन तथा संवाद गर्ने महत्वपूर्ण थलो भएको बताइन् ।

उनले भनिन्, ‘यो अधिवेशन एउटा भेला हैन, यो अधिवेशन ०७ सालदेखि लोकतन्त्रको लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन गर्न गइरहेका छौँ।’भूसालले महाधिवेशन केवल पद व्यवस्थापनका लागि नभएको बताउँदै लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘यो महाधिवेशन नेपाली कांग्रेसका नेता र कार्यकर्ता मात्रै हैन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा बन्नुपर्दछ ।’महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै उनले ऐतिहासिक अवसरलाई गुमाउन नहुने बताइन् ।

उनले भनिन्, ‘यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, आत्मनिर्णयको रूपमा, पुनर्जागरणको रूपमा, पुनर्निर्माणको रूपमा हामीले ऐतिहासिक अवसरलाई गुमाउने हैन, अवसरको रूपमा महाधिवेशनलाई लिन जरुरी छ ।’