राष्ट्रिय स्वाधीनतामा संकट देखापरेको छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २५ २०८३
209
SHARES

२५ असोज काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चाडपर्व मितव्ययी ढङ्गले मनाउन आग्रह गरेका छन्।आज भिडिओ सन्देश जारी गर्दै भोटेकोशीको प्रलयकारी बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति भएको अवस्थामा मितव्ययी ढङ्गले चाडपर्व मनाउनु उपयुक्त हुने बताएका छन्।

उनले भनेका छन्, ‘सम्पूर्ण नेपालीहरूले उल्लासका साथ मनाउँदै आएको दशैँ पर्व असत्यका विरुद्ध सत्यको जितको प्रतीकात्मक अर्थ बोकेको हुन्छ । यो पर्व सँगै नेपालीहरूले एउटा नयाँ आशा, नयाँ अपेक्षा बोकेकै हुन्छन्। हामी बडादसैँ मनाउँदै गर्दा देशमा भोटेकोसीको प्रलयकारी बाढीका कारण जुन मानवीय र भौतिक क्षति असाधारण रूपमा हामीले बेहोर्नु पर्‍यो, त्यस्तो परिस्थितिमा हामी मनाउँदै छौँ।’

विभिन्न कारणवश फेरि अहिले महँगीको मार भोग्नु परेको बताएका छन्।उनले थपेका छन्, ‘हामीले सत्यको विजय र असत्यको पराजयको कुरा बडादशैँसँग जोडिने हुनाले, हामीले पनि समाजमा विद्यमान सबैखाले विसङ्गति, विकृति, अराजकता, निरङ्कुशताका प्रवृत्तिका विरुद्ध लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशिताको विजयको निम्ति अपेक्षा गर्नु पनि स्वाभाविक हुन आउँछ।’

उनले एकताबद्ध भएर देशको अगाडि देखा परेका राष्ट्रिय स्वाधीनताको संकट, महँगीको संकट र अन्य विसङ्गति र विकृतिका विरुद्ध पनि एकजुट हुन अपिल गरेका छन्।