हामी पराजित भएका होइनौँ – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असोज ३० २०८३
380
SHARES

३० असोज काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिमा पछिल्लो समय धक्का लागेको बताएका छन् ।

बिहीबार एमाले केन्द्रीय कार्यालयमा पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरणमा ओलीले केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको बताए । त्यसलाई असफल वा पराजित भएको भन्न नमिल्ने तर्क उनले गरे ।

“हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य लिएका छौँ । पछिल्ला घटनाका कारण हाम्रो गन्तव्य केही पछाडि धकेलिएको छ,” ओलीले भने, “तर, यसको अर्थ हामी असफल वा पराजित भएका होइनौँ ।”

ओलीले आफ्नो कार्यकालमा अगाडि सारिएका सामाजिक क्षेत्रका सुधारहरूलाई समाजवादउन्मुख कदमको संज्ञा दिए । सडक बालबालिकामुक्त राष्ट्र घोषणा, सहयोगापेक्षी सडक मानवहरूको व्यवस्थापन र माग्ने प्रथाको अन्त्यलाई उनले सरकारको ‘जिम्मेवार’ व्यवहारको रूपमा व्याख्या गरे ।

“हामीले जनताप्रति जिम्मेवार सरकारको अवधारणा अघि सार्‍यौँ,” उनले भने ।

ज्येष्ठ नागरिक भत्ता, स्वास्थ्य बीमा र बालबालिकाका लागि चलाइएको ‘खोलौँ खाता’ अभियान मानवतावादी कार्य भएको उनले बताए ।

“हामीले गरेका सामाजिक कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन,” ओलीले भने, “ती कामले समाजमा पारेको प्रभाव र तिनको इतिहासलाई मेटाउन सकिँदैन ।”