जनकपुर बोल्ट्सको बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक
८ कार्तिक काठमाडौँ । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि दुवै संस्थाबीच साझेदारी सम्झौता भएको हो। बैंकले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने, युवा खेल प्रतिभालाई प्रोत्साहन गर्ने र समुदायसँगको सम्बन्ध विस्तार गर्ने उद्देश्यले जनकपुर बोल्ट्ससँग सहकार्य गरेको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले क्रिकेटमार्फत समुदायसँग जोडिन र प्रतिभाशाली युवालाई अघि बढाउन बैंक प्रतिबद्ध रहेको बताए। एनपीएलको तेस्रो संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको जनकपुर बोल्ट्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ।
जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउनु टोलीका लागि महत्त्वपूर्ण भएको बताए। बैंकको समुदायकेन्द्रित सोच र जनकपुर बोल्ट्सको मधेशका युवासँग जोडिने प्रयासबीच समानता रहेको उनले उल्लेख गरे।
एनपीएलको पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सले यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ। बैंकको सहकार्यले टोलीलाई मैदानभित्र र बाहिर थप ऊर्जा दिने खतिवडाले विश्वास व्यक्त गरे।
मुक्तिनाथ विकास बैंकले यस साझेदारीलाई नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुर्याउने र खेलकुदमार्फत समुदायसँगको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।