सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले चाँदीको बल दिने
१० कार्तिक काठमाडौं ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारस्वरूप चाँदीको बल प्राप्त गर्ने भएका छन् । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्ने उद्देश्यले यस्तो पहल गरेको हो । आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ । ती टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने कम्पनीले जनाएको छ ।
एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच खेल हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले चाँदीको बल प्राप्त गर्नेछन् । यस पहलले खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिने कम्पनीको विश्वास छ ।एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कार वितरण सुरु भइसकेको छ । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन् ।
खेलाडीको उत्कृष्ट प्रदर्शनलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना बढाउने लक्ष्यसहित यो पहल सुरु गरिएको हो । यसले एनपीएलको रोमाञ्च बढाउनुका साथै नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण र समर्थकको उत्साह थप बढाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।