वाणिज्य बैंकहरूको नाफा १९ अर्ब


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक १६ २०८३
342
SHARES

१५ कात्तिक काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए । यसरी बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिलले तीन महिनामा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले दुई अर्ब ३१ करोड र तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, एभरेस्ट बैंकले एक अर्ब २५ करोड, प्राइम कमर्सियल बैंकले एक अर्ब १८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एक अर्ब १८ करोड र एनएमबि बैंकले एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । कृषि विकास बैंकले एक अर्ब एक करोड, कुमारी बैंकले एक अर्ब सात करोड र सानिमा बैंकले एक अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएका छन् ।

अधिकांश बैंकको नाफा बढ्दा केहीको घट्यो 
२० वाणिज्य बैंकमध्ये १० वटाले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । नाफा वृद्धिका हिसाबले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सुधार उल्लेख्य देखिएको छ । बैंकले गत वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएकोमा यस वर्ष एक अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले गत वर्षको ५८ करोड ८७ लाख रुपैयाँबाट बढाएर एक अर्ब ६४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । कृषि विकास बैंकको नाफा पनि ५७ करोड ३८ लाखबाट बढेर एक अर्ब ९ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

गत वर्ष २२ करोड चार लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा फर्किएको छ । यद्यपि, सबै बैंकको नाफा बढेको छैन । प्राइम कमर्सियल, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड र एनएमबि बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ ।

अन्य बैंकमध्ये सिद्धार्थ बैंकले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, हिमालयन बैंकले ६८ करोड ४८ लाख र लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।

त्यस्तै, प्रभु बैंकले ६४ करोड ७४ लाख, नेपाल एसबीआई बैंकले ५५ करोड ८५ लाख, माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख र एनआईसी एसिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।