नयाँ ढंगले जानुपर्छ – महासचिव पोखरेल
१८ कार्तिक काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा पार्टी सञ्चालन र राज्यसत्ता सञ्चालनका क्रममा भएका कमी कमजोरीको गम्भीर समीक्षा नगरी पार्टीलाई अगाडि बढाउन नसकिने बताएका छन्। प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै विगतका अनुभवको सही विश्लेषण गरेर मात्रै आगामी कार्यभार तय गर्नुपर्ने बताए। एमाले नेतृत्वमा बनेका दुईवटा नौ महिने सरकारबाहेक अन्य सरकारका पालामा पनि धेरै महत्त्वपूर्ण काम भए पनि जनमत विस्तार हुन नसकेको स्वीकारे।
उनले भने, ‘२०७४ सालमा गठन भएको शक्तिशाली वामपन्थी सरकारका समयमा समेत वामपन्थी जनमत विस्तार हुन सकेन। समाजलाई परिवर्तन गर्ने उद्देश्य राखिएको पार्टीले शक्तिशाली सरकार निर्माण भएका बेला जनमत विस्तार गर्न किन सकेन भन्ने कुरा हाम्रो मूल्याङ्कनको विषय बन्नुपर्दछ। जब–जब हामी यो सत्यलाई मूल्याङ्कन गर्न सक्दैनौँ, तबसम्म समाजवाद निर्माणको ध्येय र उद्देश्य हासिल गर्न सक्दैनौँ।’गत भदौ २३ र २४ गतेका घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको पनि बताए। पार्टीकै नेतृत्वमा सरकार रहेका बेला भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको बताए।
उनले भने, ‘उक्त घटनापछि मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको एमालेको विश्लेषण थियो। सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा काम र भूराजनीतिक स्वार्थबारे जनतालाई सचेत गराएर जनमत पुनः आफ्नो पक्षमा फर्काउने अपेक्षा एमालेले गरेको भए पनि परिणाम अपेक्षाअनुसार आउन सकेन।’
प्रत्यक्ष निर्वाचनमा एमालेजस्तो पार्टी नौ सिटमा सीमित हुने कुरा कल्पनाभन्दा बाहिरको विषय भए बनाए। निर्वाचनमा पराजय भएपछि पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे कार्यकर्ताबाट सुझाव संकलन गरी समीक्षा प्रतिवेदन तयार गरेको समेत बताए।
उनले थपे, ‘त्यसैका आधारमा मात्रै अघि बढ्न नसकिने निष्कर्षसहित सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरियो। कार्यदलले कार्यकर्ताका सुझाव संकलन गरी सहमतिका आधारमा ४० बुँदे सङ्कल्प प्रस्ताव तयार गरेको छ। उक्त प्रस्तावको जगमा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टी जीवनमा देखिएका समस्याहरूलाई सूत्रबद्ध गर्दै आगामी दिनमा अघि बढ्न दुई कार्यभार र १५ वटा काम तय गरेको छ।’
उनले पार्टीलार्ई नयाँ ढङ्गले अगाडि बढाउने प्रयत्न भइरहेको पनि बताए। विगतका अनुभव र कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै नयाँ सन्दर्भअनुसार पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए।