सामान्य अंकले बढ्यो नेप्से


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १९ २०८३
114
SHARES

१८ कार्तिक काठमाडौं । सेयर बजार परिसूचक नेप्से १.४० अंकले बढेको छ । नेप्से ०.०५ प्रतिशतले बढेर २६६५.५३ अंकमा बन्द भएको छ । यस दिन बजार दिनभर हरियाली बने पनि अन्तिम समयमा भने सामान्य अंकले बढेर बन्द भएको हो । तर, लगानीकर्ताले भने यो दिन कारोबारलाई मंगलबारभन्दा बढाएका छन् । मंगलबार पाँच अर्ब ६१ करोडको कारोबार गरेका थिए । बुधबार सात अर्ब ४३ करोडको कारोबार गरेका हुन् ।

कारोबारमा आएका ३५८ कम्पनीमध्ये ९८ वटाको मूल्य बढ्दा नेपाल पुनर्बिमा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबार मात्रै सरकारले सो हकप्रदको निष्कासन अनुमति दिँदै लगानी बढाउने निर्णय गरेको थियो । जसको सकारात्मक प्रभाव आजको कारोबारमा देखिएको हो ।

योबाहेक हिमालयन पुर्नबिमा कम्पनीको पनि सेयरमा ११.४८ प्रतिशतको वृद्धि देखिएको हो । यस्तै, आज कारोबारमा आएका १७१ वटा कम्पनीको सेयर मूल्य घट्दा सिभिल बैंकको डिबेन्चर २०८८ को मूल्य ६.३४ प्रतिशतले घटेको छ । कारोबारमा भने आज स्वेत गंगा हाइड्रो अगाडि छ । यो कम्पनीको ८५ करोडको कारोबार भएको हो ।