कम्युनिस्ट एकता गरौँ – विप्लव
१८ कार्तिक काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट शक्तिहरूबीच एकता आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् । उनले विचार, सिद्धान्त र उद्देश्यमा साझा समझदारी कायम गर्दै विभाजनको सट्टा एकता र सहकार्यको बाटोबाट समाज रूपान्तरणको यात्रा अघि बढाउनुपर्ने बताएका हुन् । कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने काम महान् भए पनि त्यति नै पेचिलो रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, “कम्युनिस्ट क्रान्तिकारीहरूलाई एकताबद्ध गर्ने कार्य निकै महान् छ । सँगसँगै केही पेचिलो पनि छ । परन्तु आज नेपालमा कम्युनिस्ट फुटाउ, कमजोर बनाउ, सखाप पार र देशलाई दलाल पुँजीवादीहरूको कब्जामा पार भन्ने योजना साम्राज्यवादीहरूको देखिन्छ । हामी कम्युनिस्टहरुले साम्राज्यवादी, विस्तारवादीहरूको यो षड्यन्त्रपूर्ण र विनाशकारी रणनीति र चाललाई परास्त गर्न कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने नीतिसहितको गम्भीर कदम उठाउनुपर्ने भएको छ ।”
कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने नाममा सबैसँग घुलमिल भइहाल्ने नीति लिन नहुने उनले स्पष्ट पारे ।एकतालाई सस्तो र हतासको विषय बनाउँदा त्यसले थप समस्या र भद्रगोल निम्त्याउन सक्ने उनको तर्क छ । “त्यसैले केन्द्रबिन्दुमा क्रान्तिलाई राख्दै सचेतना, होसियारीपूर्वक एकतालाई अगाडि बढाउने नीति लिनुपर्दछ,” विप्लवले भनेका छन् ।