प्रधानमन्त्रीका सल्लाहकारले यसलाई मुद्दा चलाऊ भन्ने हो भने निष्पक्षता कहाँ रहन्छ – नेता पुन
९ मंसिर काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सधैँ सत्तामा नरहने भन्दै राज्यका संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन्।अहिले सत्तामा रहेकाले राज्य संयन्त्रको दुरुपयोग गरे भोलि सत्तामा आउनेले पनि उनीहरूमाथि बदला लिने प्रवृत्ति बढ्ने र अन्ततः यसले लोकतान्त्रिक प्रणाली कमजोर बनाउँदै राज्यलाई स्वेच्छाचारी बनाउने खतरा रहेको उनले बताए।
रोल्पाको पाछावाङमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले प्रहरी, प्रशासन, न्यायालय र संवैधानिक निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताए।प्रहरी अनुसन्धान र मुद्दा प्रक्रियामा प्रधानमन्त्री तथा मन्त्रीका सल्लाहकारले हस्तक्षेप गर्ने प्रवृत्तिले राज्यका निकायको निष्पक्षता कमजोर हुने धारणा उनले राखे।प्रहरीमा उजुरी परेपछि स्वतन्त्र रूपमा अनुसन्धान हुनुपर्छ। प्रधानमन्त्रीका सल्लाहकार वा मन्त्रीका सल्लाहकारले यसलाई मुद्दा चलाऊ, त्यसलाई छानबिन गर भन्ने हो भने निष्पक्षता कहाँ रहन्छ’, उनले प्रश्न गरे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई समेत बोलाएर छानबिन गर्न सक्ने स्वतन्त्रता हुनुपर्ने उनले बताए। राज्यका निकायलाई सत्ताको स्वार्थअनुसार परिचालन गर्दा आज एउटा पक्षले प्रतिशोध साँध्ने र भोलि अर्को पक्ष सत्तामा पुगेपछि त्यसैको बदला लिने चक्र चलिरहने चिन्ता उनले व्यक्त गरे।
दक्षिण एसियाका छिमेकी मुलुकहरूमा राजनीतिक शक्ति र राज्यका निकायबीचको टकरावले अस्थिरता निम्त्याएको उल्लेख गर्दै पुनले लोकतन्त्रमा कुनै पनि निकाय निरङ्कुश बन्न नहुने बताए।संसद्ले कानुन बनाउने, सरकारले कार्यान्वयन गर्ने र न्यायालयले कानुनको व्याख्या गर्दै नागरिकको अधिकार संरक्षण गर्ने व्यवस्था नै लोकतन्त्रको आधार भएको विचार उनले व्यक्त गरे।
राज्यका निकायबिच नियन्त्रण र सन्तुलन कायम हुनुपर्ने उनले बताए। राज्यका निकायका गलत काममाथि सञ्चारमाध्यमले प्रश्न उठाउनुपर्ने र जनताले खबरदारी गर्नुपर्ने पुनले बताए ।निर्वाचनमार्फत जनताले खराब काम गर्ने जनप्रतिनिधिलाई दण्डित गर्न सक्ने उल्लेख गर्दै उनले लोकतन्त्रमा अन्तिम अधिकार जनतामै निहित रहने बताए।
‘सधैँ कोही मान्छे जित्दैन, सधैँ कोही सत्तामा पनि हुँदैन। सधैँ कोही प्रतिपक्षमा पनि हुँदैन,’ उनले भने, ‘आज को पर्यो, भोलि को पर्छ र पर्सि को आउँछ भन्दा पनि लोकतन्त्र र प्रणाली जोगिनुपर्छ।’
हजारौँको बलिदानबाट स्थापित लोकतान्त्रिक व्यवस्था र संस्थाहरू कमजोर हुन नदिन सबै राजनीतिक दल जिम्मेवार हुनुपर्ने उनले बताए।पुनले वर्तमान सरकारको कार्यसम्पादनमा पनि प्रश्न उठाए। आठ महिना पुग्न लाग्दासमेत किसानले समयमा मल नपाएको, राजधानीमै ग्यासका लागि लाइन बस्नुपरेको र विकास खर्च कमजोर रहेको उनले बताए।विगतमा पाँच प्रतिशतभन्दा कम रहेको महँगी अहिले सात प्रतिशतसम्म पुगेको दाबी गर्दै उनले जनताको दैनिक जीवनयापन कठिन बनेको बताए।
अहिले सरकारमा रहेका रास्वपाका नेताहरूले यी समस्याको जवाफ दिनुपर्ने पुनले बताए।‘पहिले हामी सरकारमा हुँदा जनताले प्रश्न गर्थे, अहिले हामी प्रश्न गर्ने ठाउँमा छौँ। जनताले नै कसैलाई प्रश्न गर्ने र कसैलाई जवाफ दिने जिम्मेवारी दिएका छन्,’ उनले भने।