खुम्बु पासाङल्हामु गाउँपालिकामा आइतबार पनि कार्यालय सञ्चालन हुने


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १४ २०८३
342
SHARES

१३ मंसिर काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङह्लामु गाउँपालिकाले आइतबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । यही मंसिर १२ गते बसेको गाउँ कार्यपालिकाको १२१औँ बैठकले यस्तो निर्णय गरेको हो ।”खुम्बु पासाङल्हामु गाउँपालिकाको मिति २०८३/०८/१२ गते बसेको गाउँ कार्यपालिकाको १२१ औँ बैठकको निर्णयानुसार यस खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा भोलि मिति २०८३/०८/१३ गते आइतबारदेखि लागु हुने गरी आइतबार समेत कार्यालयहरू सञ्चालन गर्ने निर्णय भएको हुँदा सम्बन्धित सबैलाई जानकारीका गराइन्छ,” गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।

गाउँपालिकाले भौगोलिक बनावट र सञ्चालित सवारीसाधनहरूमा पेट्रोल/इन्धन प्रयोग शहरी क्षेत्रको तुलनामा न्यून रहेको, स्वास्थ्य संस्थामा आइतबार बिदा दिँदा दुर्गम क्षेत्रका बिरामीहरू उपचारबाट वञ्चित हुने र आकस्मिक सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको तथा नागरिकको प्रशासनिक कार्य र सार्वजनिक सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी बनाउन यस्तो निर्णय लिइएको जनाएको छ ।

“गाउँपालिका कार्यालय, वडा कार्यालयहरू र स्वास्थ्य संस्थाहरूले आइतबारका दिन पनि अन्य कार्यदिन सरह नै बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म र शुक्रबार बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म उपस्थित भई सेवा प्रवाह तथा पठनपाठन सुचारु गर्न यो सूचना जारी गरिएको छ,” सूचनामा भनिएको छ, “जाडोयामको समयावधि अर्थात् मिति माघ १५ गतेसम्म बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म र शुक्रबार बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म कार्यालय सञ्चालन हुनेछ ।”यसअघि संघीय सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।