होलीमा कुनै अप्रिय घटना नभएको प्रहरीको दाबी
२७ फाल्गुन काठमाडौँ । होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७ सयभन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गर्ने, ३ जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तिव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए । ट्राफिक नियम उल्लंघन गर्नेलाई सम्झाईबुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको उनले बताए ।