नयाँ बर्ष कोरोनाविरुद्धको संघर्षमा सफलता मिलोस् : अध्यक्ष प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १ २०७७
4.8K
SHARES

०१ बैशाख काठमाडौं । नेपाल कमुनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षमा कोरोना (कोभिड–१९) भाइरसविरुद्धको संघर्षमा सफलता मिलोस् भन्ने कामना गरेका छन् ।नयाँ वर्ष २०७७ सालकोे शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नयाँ वर्षले मानव जातिका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय एकताको आधार तयार पार्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रचण्डको सन्देशमा लेखिएको छ, ‘नयाँ वर्षले कोरोना (कोभिड–१९) भाइरसको महामारीका विरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पूर्ण सफलतासहित सु–स्वास्थ्य, शान्ति र समृद्धिको कामना गर्दछु ।’प्रचण्डको सन्देशमा थप लेखिएको छ, ‘सबै जातीय समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समानरुपले आक्रमण गरिरहेको कोरोना भाइरसविरुद्धको संघर्षमा नयाँ वर्षले मानव जातिकै नयाँ अन्तर्राष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।’

प्रचण्डले आम नेपाली दिदीबहिनी, दाजुभाइहरुलाई कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त नेपाल सरकारले अघि सारेका लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपूर्वक पालना गर्न उच्च मनोबल, स्वअनुशासन र एकताको बलमा विजय प्राप्त गर्न अपील समेत गरेका छन् ।

उनले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।