भारतको विस्तारवादी नीति फेरि उदायो


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २७ २०७७
8.9K
SHARES

२७ बैशाख काठमाडौँ । भारतको विस्तारवादी नीति फेरि उदाङ्गिएको छ । नेपाली भूमि लिपुलेकमा नेपालसँग कुनै सल्लाह नै नगरी चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग खोलेर भारतले आफ्नो विस्तारवादी र हेपाहा प्रवृत्ति पुनः उदाङ्गो बनाएको हो ।यसअघि नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा पारेर विवादमा आएको भारतले अहिले विश्व नै कोरोनाभाइरसको माहामारीसँग जुधिरहेका बेला सोही भूमिमा सडक निर्माण गरेर उद्घाटन गर्दा समेत नेपालीपक्षलाई कुनै जानकारी दिन उचित ठानेन । आश्चर्यको कुरा त के छ भने आफ्नो भूमिमा सडक खनेर कालोपत्रे गर्दासमेत नेपाल सरकार र सरोकारवाला निकाय बेखबर जस्तै बन्नु दुखद् र दुर्भाग्य नै मान्नुपर्छ ।

सडकको भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको समाचार बाहिर आउँदा पनि भारतका लागि नेपाली राजदूतावास र त्यहाँका राजदूत कुन दुलोमा छन् अत्तोपत्तो नै छैन । ‘भारतको हेपाइ र नेपालको कमजोरीका कारण भारतले नेपाली भूभागमा सडक बनाएको छ । यसमा हाम्रो कूटनीतिक शिथिलता र भारतले नेपाललाई जे गर्दा पनि हुन्छ भन्ने यो उदाहरण हो’, सीमाविद् बुद्धिनारायण श्रेष्ठको भनाइ छ । उनले सन् २०१५ को मे १५ मा पनि लिपुलेकबाट भारत र चीनबीच व्यापार वाणिज्य अभिवृद्धि गर्ने भन्दै भारत र चीनबीच सम्झौता भएको तथा सन् २०१९ मा भारतले नक्सा निकाल्दा नेपालको ३७२ वर्गकिलोमिटर भारतमा पारेर बनाएको र अहिले लिपुलेकमा सडक नै बनाएर अतिक्रमण गर्नुले नेपाललाई निरिह ठानेर गरिएको दाबी गरे । उनले सिमानाबारे सरकारको चासो कम भएको र भारतको झुलाउने प्रवृत्तिका कारण समस्या बढ्दै गएको दाबीसमेत गरे ।