राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याऔ -अध्यक्ष प्रचण्ड
३१ जेष्ठ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर आफूहरु भारतसँग दुरी बढाउन नचाहेको बताएका छन् । आफूहरुले अहिले पनि राजनीतिक र कूटनीतिक सम्वादबाटै नेपाल भारत सीमा विवाद समाधान गर्न चाहेको उनले बताए
।लिम्पियाधुरासहितका क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै प्रचण्डले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउन लागिएको बताए । तर यो व्यक्ति विशेषको मुद्धा नभई सामूहिक विषय भएको बताए ।
पछिल्लो समय हरेक सरकारले सीमा विवादलाई वार्तामार्फत समाधान गर्न चाहेको बताए । तर नयाँ नक्सा ल्याएर तथा लिपुलेकमा बाटो उद्घाटन गरेर भारतले नेपाललाई एकतावद्ध हुन र गुमेको भूमि फिर्ता ल्याउन नकारात्मक चुनौती दिएको उनले बताए । ‘हामीलाई इतिहासको जिम्मेवारी पुरा गर्न धचधच्याउनु भएकोमा भारत सरकार र मन्त्रीहरुलाई धन्यवाद दिन चाहन्छु ।’अब भारतसँग सधैंका निम्ति समाधान हुने गरि वार्ता गर्नुपर्ने धारणा समेत राखेका छन् ।
संविधान संशोधन विधेयकमाथि दफावार छलफलमा भाग लिदै अध्यक्ष प्रचण्डले त्रुटीपूर्ण नक्सा र निशान छाप परिवर्तन गर्ने ऐतिहासिक भूमिका निर्वाह गरेकोमा प्रधानमन्त्री केपी ओली र सरकारलाई धन्यवाद समेत दिएका छन् ।संविधान संशोधन गर्नुको अर्थ भारतसँग दुरी बढाउनु नभएको प्रचण्डले बताए । राजनीतिक र कूटनीतिक सम्वादमार्फत नै समस्या समाधान गर्न चाहेको भन्दै प्रचण्डले भने, ‘हामीले दुश्मनी चाहेका होइनौं, कूटतीतिक र राजनीतिक सम्वादमातर्फ यो समस्या सदाका लागि समाधान गर्न चाहेका छौं ।’